गजल "भाँचिदेलान् कलम मेरो"
बिधा | { | गजल | @ | करुण थापा, काठमाण्डौ,नेपाल karunthapa@yahoo.com |
भाँचिदेलान् कलम मेरो गीत लेख्दा पनि ।
डर लाग्न थालेकोछ मान्छे देख्दा पनि ।।
फुल्न छाडे फूलबारीमा फूलहरु अब
काँढा टेके जस्तो लाग्छ जहाँ टेक्दा पनि ।
आँधी आउँछ जस्तो लाग्छ किन किन मलाई
सानो सानो बादलले घाम छेक्दा पनि ।
सुन्निएको जस्तो लाग्छ आफ्नै मुटु पनि
निको हुन्न किन होला जति सेक्दा पनि ।
बालक जस्तै डराउने भएकोछु म त
बारुद देख्छु आजभोलि सलाई फेंक्दा पनि ।

0 कमेन्ट गर्नुहोस:
Post a Comment